विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल

Nepal Cover
११ असार २०८२, बुधबार
image

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा आफू विरुद्ध मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल बयान दिन विशेष अदालतमा उपस्थित भएका हुन् ।

अदालतको भर्खरै प्रकाशित पेसी विवरण अनुसार, नेपालले उपस्थित हुने भनी हिजो दिएको निवेदन न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासको पहिलो नम्बरमै परेको छ ।

बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरूले उनलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्नेछन् ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।