नेपाल नागरिकता विधेयक असार १४ गते संसद्‌बाट पारित हुन्छ : गृहमन्त्री

Nepal Cover
११ असार २०८२, बुधबार
image

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउनु भयो । 

‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ । त्यसलाई १४ गते नै पास गर्छौं,’ गृहमन्त्री लेखकले भने, ‘चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’

सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन उहाँले आग्रह गर्नुभयो ।

समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरू भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।