स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, कस्तो छ नेपाल-स्पेन सम्बन्ध?

Nepal Cover
१२ असार २०८२, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म हुने “विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन”मा भाग लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तक्र्रिया गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

नेपाल र स्पेनबीच सन् १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। यद्यपि, स्पेनमा नेपालले सन् २०१८ मा मात्र आवासीय दूतावास स्थापना गरेको हो। नेपालमा भने दिल्लीस्थित स्पेनको दूतावासले प्रतिनिधित्व गर्दै आएको छ। हाल स्पेनमा करिब २० हजार नेपालीहरू कृषि, होटल, पर्यटन, निर्माण लगायतका क्षेत्रमा संलग्न छन्।

नेपाल–स्पेन सम्बन्धमा विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन्। सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्रले स्पेन भ्रमण गरेका थिए भने सन् १९८७ मा स्पेनका राजा कार्लोस नेपाल आएका थिए। पछिल्ला वर्षहरूमा प्रधानमन्त्री प्रचण्ड, सञ्चारमन्त्री गोकुल बास्कोटा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन भ्रमण गरेका छन्।

पर्यटन क्षेत्र स्पेनको प्रमुख आयस्रोतमध्ये एक हो। वार्षिक करिब सवा करोड विदेशी पर्यटकले स्पेन भ्रमण गर्ने गरेका छन्। सन् २०१८ मा मात्र १९ हजारभन्दा बढी स्पेनिस पर्यटक नेपाल आएका थिए। कोभिड महामारीपछि उक्त संख्यामा केही कमी आएको भए पनि नेपालका धार्मिक, प्राकृतिक र सांस्कृतिक स्थलहरूले स्पेनिस पर्यटकलाई आकर्षित गर्ने सम्भावना अझै प्रबल रहेको पर्यटन क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल र स्पेनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने, लगानी तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र युरोपेली मुलुकहरूमा नेपालको पहिचान अझ प्रष्ट पार्ने अपेक्षा गरिएको छ।