निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो: प्रचण्ड

Nepal Cover
१७ असार २०८२, मंगलवार
image

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज (मंगलबार) पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए । उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् ।

‘संघीय निजामती सेवा विधेयकमा षड्यन्त्र भएको सबैले देख्नुभएको छ,’ प्रचण्डले भने, ‘कसले बदमासी गर्याे, छानबिन हुनुपर्छ। चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई हामीले अब छुट दिन सक्दैनौं।’

विधेयकबारे विवाद तब चुलिएको थियो जब संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकभन्दा फरक ढंगले प्रतिनिधि सभामा ‘बाहेक’ भन्ने शब्द थपिएको पाइएको थियो। यसले विधेयकको मर्ममा हेरफेर गरेको भन्दै व्यापक आलोचना सुरु भएको छ।

अध्यक्ष प्रचण्डले परिवर्तनका उपलब्धिहरूमाथि लगातार प्रहार भइरहेको टिप्पणी गर्दै संविधान, गणतन्त्र र जनताले बलिदान दिएर ल्याएका अधिकारहरू उल्ट्याउने प्रयास भइरहेको बताए। ‘यथास्थितिवाद र प्रतिगमनको प्रवृत्ति अझै पनि सक्रिय छ। यसविरुद्ध हामीले पार्टीको अभियानमार्फत प्रतिवाद गरेका थियौं, अहिले पनि सतर्क रहनुपर्छ,’ उनले भने।

त्यस अवसरमा प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, मार्गदर्शन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ संगठित रूपमा अघि बढ्न निर्देशन दिएका थिए।