काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले खानेपानीको लागि एडीबीको ऋण स्वीकार गर्न नसकिने बताएका छन् । खानेपानी मन्त्रीलाई पत्र लेख्दै उनले एडीबीको ऋण लिएर सप्तकोशीको पानी ल्याउने कार्य गर्न नहुने बताएका हुन् । उनले धरान उपमहानगरपालिकाले एडीबीको पहिला लिएको ऋण नै तिर्न बाँकी रहेको र आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउन भनेका छन् । उनले एडीबीको ऋण लिएर सप्तकोशीको पानी नल्याउने, बरु खोलाखोल्सीको पानी जोडेर गुजारा गर्ने जानकारी गराएका छन् ।
उनले कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन धेरै पटक मन्त्रालय धाएको स्मरण गराउँदै आव. २०८२/०८३ मा ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भएको तर बाँकीको पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकाले यस्तो घोषणा गरेका हुन् ।
मेयर राईले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित नहुने बताएका छन् । धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सके मात्र योजना अगाडि बढाउन खानेपानी मन्त्रालयलाई उनले आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सके मात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफै खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु ।’
