निरन्तर ६ कारोबार दिन बढेपछि नेप्सेमा करेक्सन

Nepal Cover
२३ असार २०८२, सोमबार
image

काठमाडौं । लगातार ६ कारोबार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार २३) घटेको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशतले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ ।  

यस दिन आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार (असार २२) नौ अर्ब ५० करोड रुपयाँको सेयर खरिद–बिक्री भएको थियो । 

यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने भगवती हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २४ करोड नाघेको छ।