सवारीसाधन दुरुपयोग रोक्न मुख्यसचिव अर्यालले एक्सन लिदै

Nepal Cover
२४ असार २०८२, मंगलवार
image

काठमाडौँ । सरकारी सवारी साधनको दुरुपयोग रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सक्रियता देखाएको छ । सेतो प्लेटका सवारी साधनको दुरुपयोग भएको भन्दै नागरिकस्तरबाट गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न मुख्यसचिव एकनारायण अर्यालको निर्देशनमा कार्यालयले सबै सचिवहरूलाई पत्राचार गरी सवारी साधनको विवरण माग गरेको छ ।

प्रधानमन्त्री कार्यालयका शासकीय मामिला हेर्ने सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालय, विभाग, कार्यालय, सचिवालय, संस्थान, समिति, बोर्ड, परिषद्लगायत निकायका नाममा दर्ता भएका वा हस्तान्तरणमार्फत प्राप्त सवारी साधनको विवरण सात दिनभित्र पेश गर्न पत्राचार गरेका छन् ।दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको विस्तृत विवरणसहित प्रयोगकर्ता पदाधिकारी र कर्मचारीको नामावली मागिएको छ ।

साथै, राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरवारलाई अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । सरकारी सवारीको चरम दुरुपयोग रोक्न यो कदम प्रशंसनीय भएको एक सचिवले बताए । “हामीलाई भर्खरै प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ,” ती सचिवले भने, “नागरिकको गुनासो सम्बोधन गर्न र सरकारी खर्चमा मितव्ययिता कायम गर्न यो कदमले सघाउ पुर्‍याउने विश्वास छ ।

” प्रधानमन्त्री केपी शर्मा ओलीले अब फरक ढंगले अघि बढ्नुपर्ने र काम गरेर देखाउनुपर्ने भनाइसँगै मुख्यसचिव अर्यालबाट सोही भावनाअनुसार काम गर्न सचिवहरूलाई निर्देशन भएकोसमेत ती सचिवको भनाई छ । मुख्यसचिव अर्यालले कुनै पनि बहानामा सेवा प्रवाहमा नागरिकलाई दु:ख दिने कार्य स्वीकार्य नहुने र कर्मचारीले इमानदार तथा तल्लीन भएर काम गरी ‘कामै गर्दैनन्’ भन्ने आक्षेप मेटाउनुपर्ने भन्दै जनताको काम रोक्ने काम अब सह्य नहुनेसमेत बताएका छन् ।

पछिल्ला दिनमा मुख्यसचिव अर्याल नागरिकको हितका निम्ति श्रम बिभाग देखि अन्य जनसरोकारका बढी काम हुने कार्यालयम समेत छड्के अनुगमनमा सकृय देखिएका छ्न।