रसुवा ।भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेकाे प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
त्यस्तै, बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिकमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन् ।
बर्दिया स्थायी घर भएका जिवन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।
यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए ।
ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन्।