एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

Nepal Cover
२४ असार २०८२, मंगलवार
image

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो ।

योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो। गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको। नेपाल राष्ट्र बैंकको तथ्यांक छ। 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो। यो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो।

चालू आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो।