भोटेकोशी बाढी अपडेट : मृतक २० जनाको पहिचान खुल्यो

Nepal Cover
२४ असार २०८२, मंगलवार
image

रसुवा । भोटेकोशी नदीमा गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ । गोरखाका थप दुई जना बेपत्ता भएको खुलेसँगै बेपत्ता हुनेको संख्या २० पुगेको हो । बेपत्ता हुनेमा गोरखाको पालुङ्टा नगरपालिका–६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन् । यसअघि रसुवामा तीन जना प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ गरी १८ जना बेपत्ता भएका थिए ।

नेपाली सेनाका अनुसार हालसम्म बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्। यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन् । यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यी हुन् बेपत्ता भएका मान्छेका नामावली

–प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ ।

–जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर ।

–प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा ।

–बर्दियाका ३६ वर्षीया जिपन चौधरी

–त्यही जिल्लाका वर्ष ३५ का सन्तोष दइत

–बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु

–त्यही जिल्लाका वर्ष २४ का लक्ष्मीनारायण थारु

–बर्दियाकै वर्ष ३० का सुरेश थारु

–बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क.

–सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा

–ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान

–ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ

बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन् ।

–चिनियाँ पुरुष यु युए

–चिनियाँ पुरुष लि हुक्वाइङ

–चिनियाँ पुरुष नै याङ चुआन

–चिनियाँ पुरुष यु हाइ हाङ

–चिनियाँ पुरुष यु छिआओ कुई

–चिनियाँ पुरुष जोउ योङ