आइएसओ प्रमाणपत्र पाउने पहिलो विशेष अदालत

Nepal Cover
२५ असार २०८२, बुधबार
image

काठमाडौँ । गर्दा सम्भब छ भन्ने भनाइ लाई विशेष अदालतले प्रमाणित गराएको छ।
विशेष अदालत बबरमहलस्थित कार्यालयले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ। न्यायिक प्रणाली जबाफदेहिता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र (यानएसरआइएसओ ९००१:२०१५)  को आज विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरे। उनले न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारीता, जबाफदेहिता र सार्वजनिक विश्वास कायम राख्न प्रयत्न गरिरहेकाले आइएसओको प्रमाणपत्र प्राप्त गर्न सफल भएको जानकारी दिए।

अध्यक्ष कुँवरले कानुनबमोजिम निष्पक्ष न्याय सम्पादन, खुला, पारदर्शी र अभिलिखित न्यायिक प्रक्रिया कायम गर्न न्यायिक निकायलाई परीक्षण, तालिम र प्रविधिका माध्यमबाट नियमित रूपमा सुधार गर्न प्रयत्न गरिरहेको बताए ।“विशेष अदालत आइएसओको प्रमाणपत्र पाउने नेपालकै पहिलो अदालत बनेको छ । यो पहलले अदालतको दैनिक कामकाज र प्रक्रियाको दस्तावेजीकरण समावेश गर्नुपर्ने, हरेक वर्ष लेखापरीक्षण (अडिट) गर्नुपर्ने र प्रत्येक तीन वर्षमा पुनस्प्रमाणित गर्नुपर्ने हुन्छ”, उनले भने ।

अध्यक्ष कुँवरले अदालतको अभिलेख प्रणालीलाई आधुनिकीकरणको मार्गमा अगाडि बढाएर कागजविहीन बनाउने, ‘डिजिटल रेकर्डिङ’ प्रणाली र भर्चुअल सुनुवाइमार्फत न्यायमा सहज पहुँचमा ध्यान दिइरहेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१र८२ को असार २५ गतेसम्मको तथ्यांकका आधारमा अदालतले कूल २०६ मध्ये १२३ थान मुद्दा फर्छ्यौट गरेको छ भने ८३ बाँकी छन् । विशेष अदालतको विगत पाँच वर्षको मुद्दाको तथ्याङ्कलाई अध्ययन गर्दा सबैभन्दा बढी आव २०८०र८१ मा मुद्दा फर्छ्यौट भएको छ । उक्त आवमा ५७५ मध्ये ५०६ मुद्दा फर्छ्यौट भएको थियो ।

त्यसअघि, आव २०७७र७८ मा सबैभन्दा कम १५ दशमलव सात प्रतिशत, आव २०७८र७९ मा ४२ दशमलव ८० प्रतिशत, आव २०७९र८० मा ४५ दशमलव ७६ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट भएको थियो । आव २०७६र७७ मा ७७ दशमलव शून्य पाँच प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो । विसं २०८२ असार २२ गतेसम्म २०५ मध्ये १२३ मुद्दा फर्छ्यौट भएका छन् ।

विशेष अदालतले आव २०८०र८१ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट गरी न्याय सम्पादनलाई चुस्तदुरुस्त राख्न सफल भई आइएसओ प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष कुँवरले बताए । जेनेभामा मुख्य कार्यालय रहेको यस सङ्गठनको प्रमाणपत्र प्रक्रिया पूरा गरी नेपाल नापतौल तथा गुणस्तर विभागमार्फत विशेष अदालतलाई प्रदान गरिएको हो ।

विशेष अदालतका अध्यक्ष कुँवरले अदालतको व्यवस्थापनलाई नमुना बनाउने, सेवाग्राहीमैत्री वातावरणको सिर्जना, मुद्दाको अङ्ग पुर्‍याइ छ महिनाभित्र फैसला गर्ने योजनासहित काम गरिरहेको बताउँदै फैसला कार्यान्वयनलाई तीव्रता दिने काममा लागिरहेको जानकारी दिए । उनका अनुसार अदालतले नेपालका साथै विश्वको जुनसुकै स्थानबाट पनि भर्चुअल सुनुवाइ गरिरहेको छ ।उनका अनुसार आफ्नो टिमले तोकिएको जिम्मेवारी इमानदारीसाथ गर्दै जादा यो परिणाम आएको बताए ।
२०८०मंसिर १८ गते एउटा रोड म्याप लिएर प्रवेश गरेको अध्यक्ष कुवर समुहले विशेष अदालत भित्र सेवाग्राही लक्ष्तित सजाइएका आकर्षक बगैचा देखी न्याय सम्पादनमा खेलेको भुमिका साच्चै सबैका निम्ति प्रेरक मानिन्छ ।