उज्यालो नेपालका अभियान सहित कुलमान घिसिङ प्रवासी माझ

Nepal Cover
३० असार २०८२, सोमबार
image

कतार । उज्यालो नेपाल अभियान लिएर कतार पुगेका नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निराशै निराशामा बाँचेका नागिकलाई आशा जगाउन नेतृत्व बदल्नुपर्ने बताएका छन् ।

कतारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए, एनसीसी) र नेपाल जनजाति महासंघद्वारा दोहामा आयोजित उज्यालो संवादलाई सम्बोधन गर्दै घिसिङले नेपालमा आशाको वातावरण बनाउन नेतृत्व परिवर्तन गरेर अगाडि जानुपर्ने बताएका हुन् ।

‘नेपालमा केही हुन्न भन्ने निराशै निराश छरिएको छ । अहिलेको नेतृत्वमा विश्वासको संकट भयो । यहाँ राइट ठाउँमा राइट व्यक्ति नहुँदा अँध्यारो देखिएको हो । अब अँध्यारोलाई हटाएर उज्यालो नेपाल बनाउन नयाँ नेतृत्व ल्याउनुपर्छ,’ उनले भने, ‘नेपालमा अवसरै अवसर छ । देशका लागि आर्थिक अवस्था थेग्ने बलियो श्रमशक्ति हामीसँग छ । उनीहरूको अनुभव र पुँजीलाई उपयोग गरेर देशलाई बदल्न सक्ने हामीसँग अवसर छ । त्यसका लागि नेतृत्व बदल्नु जरुरी छ ।’

उनले युवा नेतृत्व जन्माउन उज्यालो अभियान नेपाल सुरु गरेको पनि स्पष्ट पारेका छन् । ‘अब देशको सही नेतृत्व भएन भने झन निराशा छाउँछ । तपाईं–हामी एक ठाउँमा उभिन सक्यौं भने देश बन्छ । तपाईंहरूको अनुभव र प्रतिबद्धताबाट हामी अगाडि बढ्न सक्छौं,’ उनले भने, ‘नेपालको सबै क्षेत्रमा भएको अँध्यारोलाई हटाएर उज्यालो नेपाल बनाउन सकिन्छ । उज्यालो नेपाल समृद्धिको बाटो हो । एकताबद्ध भएर युवा नेतृत्व जन्माउने बाटो हो । यो सामाजिक अभियान मात्रै होइन, आर्थिक क्रान्ति जन्माउने अभियान पनि हो ।’
विदेशमा नेपाली समुदाय पार्टीका नाममा धेरै विभाजित भएको प्रति उनले चिन्ता व्यक्त गरे । ‘मैले बहराइन, ओमान, यूएई हुँदै कतारसम्म आउँदा जताततै नेपाली समुदाय पार्टीका नाममा स्वदेशमा भन्दा विदेशमा बढी विभाजित रहेछौं । हामी पार्टीभन्दा माथि उठ्नुपर्छ । पार्टीका नाममा भएको विभाजनलाई हटाएर एक हुनुपर्छ,’ उनले भने, ‘कामका आधारमा विरोध र समर्थन जनाउनुपर्छ ।’
उनले खाडीमा रहेको नेपालीको संघर्षले नेपाल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । ‘खाडीका हरेक क्षेत्रका नेपालीले सँगालेको अनुभव नेपाल निर्माणका लागि उपयोगी हुन्छ । खाडीबाट आउने रेमिट्यान्सलाई जलविद्युत्, कृषि र पर्यटन क्षेत्रको विकासमा प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘तर, देशको अर्थतन्त्रलाई धानेको वर्गलाई सरकारले रेड कार्पेट बिछ्याइदिएको छैन । बरु विमानस्थलबाट आउनेदेखि जानेसम्म अपमान मात्रै गरिरहेको छ ।