काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरिएको छ।
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गरेको छ । विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको छ ।
गृह मन्त्रालयले अध्यागमन विभाग कालिकास्थानमा रामचन्द्र तिवारी र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरहरि घिमिरेलाई पठाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता तिवारीलाई विभाग कालिकास्थान काठमाडौँको महानिर्देशक बनाइ पठाइएसँगै गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा ल्याइएको छ । रिजाल शालीन, भद्र एवं इमान्दार सहसचिवका रूपमा चिनिन्छन् । चर्चित भिजिट भिसा प्रकरणमा कहीँ कतै पनि नजोडिएका रिजाल दर्जनौँ जिल्लाको प्रजिअ भई सकेका अनुभवी प्रशासकका रुपमा परिचित छन् ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा हाल खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव घिमिरेलाई पठाइएको छ । आफ्नो ५२ दिनको कार्यकालमा कोइरालाले प्रशासनिक सुधारका लागि सकरात्मक प्रयास गरेका थिए ।
घिमिरे गृह आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
यस्तै गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।