काभ्रे । ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ भन्ने अभियानका रुपमा सञ्चालन गर्न थालिएको दोस्रो जन्मोत्सव पार्क आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले शुभारम्भ गर्नुभएको छ । जन्मोत्सव पार्क शुभारम्भ गर्दै नेपाल सरकारका मुख्य सचिव अर्यालले नागरिकको तह बाट वातावरण प्रेमी अभियान शुरूवात गर्दै जन्मोत्सव पार्क बनाउने संकल्पले आफू खुसी भएको बताउदै यो अभियान देशभर चल्नुपर्छ हाम्रो सहयोग रहन्छ बिरुवा रोप्दै भन्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रम लाई एक्यवद्धता जनाउदै आफनो नाम रहेको ट्रीगार्डमा बिरुवा रोप्नुभएको थियो।त्यस्तै शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतले आ–आफ्नो नामसहितको ट्रिगार्डमा एकैसाथ बृक्षारोपण गरी पार्कको शुभारम्भ गरिएको हो ।
सञ्चारकर्मी आबद्ध तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा अभियानका रुपमा दोस्रो पार्क धुलिखेल नगरपालिका–१० शारदाबतासेमा स्थापित गरिएको छ । यसअघि रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दर चाँदीखोलामा पार्क स्थापना गरिएको आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले बताए ।
चौलागाईका अनुसार जन्मदिनलाई सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनासँग जोड्ने तथा सामाजिक सेवा र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले जन्मोत्सव पार्कको अभियान सुरु गरिएको हो । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा अभियानका अवधारणाकार गोविन्दप्रसाद चौलागाईंले अभियानको बारेमा स्वागत मन्तव्य दिंदै हरेक जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने अभियानमा देशभर सघन सहयोग प्राप्त भइरहेको बताए ।
सम्पत्ति सुदृढीकरण अनुसन्धान बिभागका महानिर्देशक सुमन दाहालले आफ्नो जन्म दिनको अवसरमा शुभारम्भ पार्कमा बिरुवा रोप्नुभएको थियो।त्यस्तै धुलिखेल वडा नं. १० का वडा सदस्य अशोक कुमार शाहको सोहि दिन परेको जन्मदिनको अवसरमा शुभ जन्मोत्सव पार्कमा वृक्षरोपण गरेका थिए । त्यस्तै, नुवाकोट जिल्ला संयोजक एलिजा लामिछानेले समेत आफ्नो जन्मदिनको अवसरमा वृक्ष रोप्दै अभियानप्रति ऐक्यवद्धता जनाईन् । तिनै जना बिशेष व्यक्तित्वलाई प्रमुख अतिथि एकनारायण अर्यालले विरुवा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अर्यालले यस्ता जागरणमुलक अभियानले सामाजिक रुपान्तरणमा ठूलो योगदान पु-याउने विश्वास व्यक्त गर्दै पर्यावरिणीय क्षेत्रमा उल्लेख्य भूमिका निभाउने उनको भनाई थियो । “यो अभियानले जलवायू परिवर्तनले पानीका मुहान सुक्ने र जमिन उजाडिने समस्यालाई केही सहयोग गर्ने विश्वास लिएको छु उनले भने ।मुख्यसचिव अर्यालले जन्म दिनलाई सतकर्ममा जोडौ अभियानबाट तयार वेबसाईट समेतकार्यक्रम बीचमा शुभारम्भ गर्नुभएको थियो।
सो अवसरमा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू तथा उपप्रमुख निराजन जङ्गम, सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक सुमन दाहाल, नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङ बाग्मती प्रदेश बन मन्त्रालयका सचिव डा केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, सहसचिव रामचरित्र मेहेता,समाजसेवी मैयादेबी अर्याल राजस्व अनुसन्धान बिभागका निर्देशक नवराज अधिकारी वरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतम ,नवीन कार्की ,समाजसेबी पवन अग्रवाल वडा धुलिखेल–१० का वडाध्यक्ष गोविन्द भण्डारीलगायत विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मीको झन्डै एकहजार जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा कार्यालयद्वारा जन्मोत्सव पार्कमा थप भौतिक संरचना निर्माण गर्न तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मुख्य सचिव आर्याल र प्रदेश मन्त्रालयका सचिव बराललाई हस्तान्तरण गरिएको छ । सो क्रममा पार्क तथा त्यसआसपासको क्षेत्रमा विभिन्न जातका एक हजार विरुवा रोपिएको छ ।


