विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन : विष्णु

Nepal Cover
८ श्रावण २०८२, बुधबार
image

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नमिल्ने बताएका छन् ।

सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने उनले बताए । राष्ट्रपति गणतन्त्रको शान भएको र राष्ट्र प्रमुख भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने निष्कर्षसहित एमालेले निर्णय गरेको उनले बताए ।

उहाँ राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्ने जहाँसम्म विषय छ । राष्ट्रपति गणतन्त्रको शान हो । राष्ट्रपति राष्ट्र प्रमुख हो । राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो,’ उनले भने, ‘एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो । सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा संविधानको रक्षा, संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन ।’

भण्डारी सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनु उचित हुने बताउँदै उनले पार्टी सदस्यता नवीकरण हुन नसक्ने पनि स्पष्ट पारे ।

‘त्यसकारण उहाँले सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनुपर्छ । उहाँको पार्टी सदस्यता नवीकरण हुन सक्दैन, गर्न उचित पनि हुँदैन,’ पौडेलले भने ।

७० वर्षे उमेरहद राख्न जरुरी नरहेको पनि उनले बताए ।