काठमाडौं । निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ । छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले समितिले आजै निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको हो ।
सोमबार बिहानै ७ बजेदेखि समिति बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा बसिरहेको छ । समिति बैठक आइतबार पनि राति १२ बजेसम्मै बैठक बसेको थियो । समितिको म्याद आइतबार सकिएको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने तयारीमा आफूहरू रहेको आचार्यले जानकारी दिए ।
आइतबार समितिमा रहेका सत्तापक्षका सांसदहरूले एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतका नेताहरूसँग छलफल गरेका थिए ।
एमाले संसदीय दलको कार्यालयमा भएको छलफल समितिलाई समय थप आवश्यक रहे/नरहेको विषयमा समेत केन्द्रित रहेको एमाले मुख्य सचेतक बर्तौलाले बताएका थिए ।
संघीय निजामती सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियडको प्रावधान राख्नका लागि भएको सहमति निश्कृय हुने भाषा समेत प्रयोग भएको भन्दै प्रश्न उठेपछि गत २३ असारमा छानबिनका लागि संसदीय समिति बनेको थियो।
समितिलाई सुरुमा २१ दिनको समय दिइएकोमा समितिले आग्रह गरेपछि एक साता थपिएको थियो । थपिएको म्याद आइतबार सकिएको छ । कांग्रेसका सांसद जीवन परियार सभापति रहेको छानबिन समितिमा कांग्रेसका सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।