यातायातका कार्यालय सहयोगी पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
२३ श्रावण २०८२, बिहीबार
image

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेलले सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो।

सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने र लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भन्दै सेवाग्राहीबाट लिएको ७ हजार घुससहित पौडेललाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

उक्त आरोप पुष्टि भएको भन्दै अख्तियारले पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो । पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता राजेन्द्रले बताए ।