सेयर बजारका सबै सूचक बढे, कारोबार रकममा पनि उछाल

Nepal Cover
२३ श्रावण २०८२, बिहीबार
image

काठमाडौं । साताको अन्तिम सेयर बजारका सबै सूचक बढेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ। सो वृद्धिसँगै २८५० मा कायम भएको छ ।

बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ : ०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्‍यो । १८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ५४ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।