काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति र खेतीपातीको अवस्थासम्बन्धी विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज सिंहदरबारमा छलफल गर्नुभएको छ।
प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारी सहभागी थिए। किसानहरूले मौज्दातमा मल भए पनि समयमा नपाएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै छलफल आयोजना गर्नुभएको हो।
बैठकमा प्रधानमन्त्री ओलीले खेतीपातीको समय अघि नै मलको अभाव नहुने व्यवस्था मिलाउन, नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापना गर्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजनासहित कार्यान्वयनका कदम चाल्न निर्देशन दिनुभयो।