काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ। परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो।
आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू. छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ ।
विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.२९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।