कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

Nepal Cover
१८ आश्विन २०७७, आईतवार
image

काठमाडौँ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको बताए ।

गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए ।

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरे ।