काठमाडौँ। पौने १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अदालतमा हाजिर भएका पौडेलको बयान तथा थुनछेक बहसपछि यस्तो आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौडेल सहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानि पुर्याएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र दफा १९ अनुसार कैद, जरिवाना र बिगो असुलउपर गर्न माग गरिएको छ । साथै, कार्यकारी निर्देशक पौडेल सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ऐनको दफा २४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ ।