काठमाडौं । तीन कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । आज बजार २१.३० अंक बढेसँगै २७६१ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो २ : ३० बजे २७६४ अंक आजका लागि अधिकतम रह्यो ।
नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७५ करोडको भयो । यस दिन १७९ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नारायणी डेभलपमेन्ट बैंकको यस दिन शतप्रतिशत हकप्रद शेयर समायोजन भएको थियो। त्यस्तै, यस दिन साना किसान लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७६ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।