रुबी साह हत्या प्रकरण : मुख्य आरोपी जलेको अवस्थामा पक्राउ

Nepal Cover
११ भाद्र २०८२, बुधबार
image

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ । उनलाई माधवनारायण नगरपालिका-६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रौतहटकी रुबीको हत्याका आरोपी पासवानले अपराध स्वीकार गर्दै घटना विवरण सार्वजनिक गरेका छन् । रुबीको हत्यापछि आत्महत्या प्रयास गरेका उनले त्यसअघि दश मिनेट लामो भिडिओ बनाएका थिए, जहाँ घटनाको बयान गरिएको छ । 

रौतहटको माधवनारायण नगरपालिका-६ घर भएकी रुबीको शव गत शनिबार राती गौर–सिर्सिया सडकखण्डको छेउमा सुटकेशभित्र भेटिएको थियो । घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले आज पासवानलाई नियन्त्रणमा लिएको हो । आगोले जलेको अवस्थामा भेटिएका उनलाई तत्काल गरुडास्थित बेटर नेपाल हस्पिटल भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि अहिले कीर्तिपुरस्थित बर्न सेन्टर रिफर गरिएको छ । 

पासवानले शरीरमा आगो लगाउनुअघि नै घटनाको फेहरिस्त सुनाएर फेसकुकमा राखेकाे भिडिओले यतिबेला सञ्चाल तातेकाे छ । रुबीसँग स्कुल पढ्दादेखि नै माया बसेको र आफूहरुले नेपाल र भारत दुवै ठाउँमा अदालती बिहे गरेको उनको भनाइ छ । तर, रुबीको परिवारले आफूहरुलाई छुट्याउन खोजेको पासवानले आरोप लगाएका छन् । 

‘म गरिब भए पनि उसलाई माया गर्थे, खुशी राख्थे, १० कक्षामा पढ्दा भागेर बिहे गर्यौँ’, उनले भनेका छन्, ‘तर उसको आमाले सधैँ हामीलाई छुट्याउन खोजिन्, धेरै सताइन्, दुख दिइन्, त्यसको पैसा छैन भनेर सधै ताना मारिन् ।’ 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पासवानले छातीमा रुबीको तस्वीर र पाखुरामा उनकै नामको ट्याटु खोपेका छन् । यसले उनको अभिव्यक्तिलाई बल पुर्याएको र शंकाको सुई रुबीको आमातिर तेर्सिएकाे प्रहरीले बताएकाे छ । रुबीलाई उनकै आमाले पैसावाल केटाहरुसँग सुत्न बाध्य बनाएको समेत पासवानले दाबी गरेका छन् । ‘एउटा राजन महत भन्ने व्यक्ति छ, उ निकै खराब छ, उसले रुबीलाई कति पैसा चाहिन्छ, म दिन्छु भन्दै सुत्नको लागि लालच देखाउँछ’, उनले खुलाएका छन्, ‘उसले होटल जाऔँ भन्दा रुबीले जान्नँ भन्छे, तर उनको आमाले जाउ भन्छे, मलाई त्यसले रिस उठाउँछ ।’

पासवानले अर्का व्यक्तिको नाम पनि उच्चारण गरेका छन्, राजा । ‘उसलाई राजु पनि भन्छन्, उसले तिम्रो नाममा कार किन्दिन्छु, घर लेखिदिन्छु भन्दै आफूसँग सुत्नको लागि दबाब दिन्छ, तर पनि रुबीले मान्दैन’, भनेका छन्, ‘तर आमा खराब छिन्, उनले सुत्न जा भन्छिन्, उ कस्तो आमा हो ? छोरीको बिहे भइसकेको छ, तर अरुसँग जा भन्छिन् ।’

रुबीलाई आफ्नै देवरले समेत बल्याकमेल गरेको पनि पासवानले खुलाएका छन् । विविध कारणले रुबी डिप्रेशनमा गएर कयौँ पटक आफूलाई ‘मार दे’ भनेको उनको भनाइ छ । ‘त्यो दिन (शुक्रबार) उनी मेरोमा आएकी थिइन्, उनले मलाई म अब सक्दिनँ, मलाई मारे दे भनिन्, मैले तलाई मार्न सक्दिनँ, बरु मलाई मार दे भनेँ’, पासवानले थपेका छन्, ‘मैले फेरि भने तलाई मार्न सक्दिनँ, र पनि उनले बारम्बार मलाई मार दे भनिरहिन्, निकै डिप्रेशन भयो, अहिले पनि मेरो हात काँपिरहेको छ ।’

पासवानले शरीरमा आगो लगाउने योजना पहिल्यै बनाइसकेको देखिन्छ ।  सरी, अब म बाँच्न सक्दिनँ, आजै मर्दैछु, आगो लगाएर, कानुनले मलाई जेल हाल्न सक्छ, तर त्यसले मलाई केही हुँदैन, म त त्यो अघि नै संसार छाड्न चाहन्छु’, उनले भिडियोमा भनेको सुनिन्छ, ‘म दोषी हुँ, तर भाग्दिनँ, जेलमा पनि बस्न सक्दिनँ, म त अब मर्न चाहन्छु, किनकि मेरो प्राण त गइसकेको छ, उ मलाई पर्खिरहेकी छे, कहिले आउँछन् भनेर सोधिरहेकी छे, त्यसैले म पनि उसलाई भेट्न जाँदैछु ।’