सेयर बजारमा आज पनि उच्च अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

Nepal Cover
११ भाद्र २०८२, बुधबार
image

काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेसँगै २८०० विन्दुभन्दा माथि पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ।

कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो ।

विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने ग्रीन भेन्चर्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ५५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम साढे ४६ करोड नाघेको छ।