गुटबन्दी पार्टीको समस्या बनेको : प्रचण्ड

Nepal Cover
१२ भाद्र २०८२, बिहीबार
image

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीमा गुट उपगुट नै समस्याको रूपमा रहेको निष्कर्ष निकालेको छ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । बिहीबार बिहान पार्टीको प्रदेश सचिवालय बैठकका लागि विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले जनार्दनको नाम लिँदै भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन ।’ उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । उनले भने, ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं ।’ माओवादीभित्र पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय पनि उनले उल्लेख गरे ।

स्वार्थ समूह भनेको के हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नुलाई स्वार्थ समूह भनिएको हो ।’