काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा एआइजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो।
हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो। भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्। हालका आईजीपी थापासँगै फारम भरेर प्रहरी सेवामा प्रवेश गरेका खापुङ आफ्नो ब्याचका अन्तिम प्रतिस्पर्धी बनेका छन्। तीन चरणमा नियुक्ति दिइएको सोही ब्याचका धेरै सहकर्मीहरू पहिले नै अवकाश भइसकेका छन्।
पहिलो लटमा नियुक्त बसन्तबहादुर कुँवर आईजी बनेर ३० वर्षे सेवा अवधिपछि अवकाश गइसके। दोस्रो लटका सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने, तर उनी पनि यही भदौ १८ मा अवकाशमा जाँदैछन्। तेस्रो लटका लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेर हदकै कारण क्रमशः जेठ र भदौ महिनामा अनिवार्य अवकाशमा पुगेका छन्। यसरी प्रशासन विभाग प्रमुखसमेत रहेका पोखरेलको अवकाशपछि खापुङ एकल उम्मेदवार बनेका हुन्।
यदि नयाँ प्रहरी ऐन लागू भए उनको सेवाअवधि ६ महिना बढ्नेछ, अन्यथा ३० वर्षे सेवा पूरा गरी खापुङ २६ कात्तिकदेखि अनिवार्य अवकाशमा जानेछन्।
साथै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबारदेखि हुने चीन भ्रमण पनि स्वीकृत गरेको छ । प्रधानमन्त्री चीन भ्रमणमा जाने भएकाले शुक्रबार नै महानिरीक्षक नियुक्त गर्ने निर्णय गरिएको हो ।