खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा धम्की दिने किशोरी चार दिनदेखि थुनामा

Nepal Cover
१७ भाद्र २०८२, मंगलवार
image

काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई हैजा फैलिएको बारेमा चर्को स्वरमा फोनबाट प्रश्न गर्ने एक महिलालाई पर्सा प्रहरीले चार दिनदेखि थुनामा राखेको छ।

परिवारका सदस्य अस्पताल भर्ना भएको भन्दै हैजाको बेलामा तपाईंले किन फोन नउठाएको भनी उनले मन्त्री यादवसँग फोनमा आक्रोश पोखेकी थिइन्। कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी किरण साहलाई गत शनिबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

‘मन्त्रीज्यू र मेयरज्यूबाट मौखिक गुनासो आएपछि प्रारम्भिक सोधपुछका लागि युवतीलाई नियन्त्रणमा लिइएको हो।’

प्रहरीका अनुसार हैजाको प्रकोपले वीरगन्जमा गम्भीर अवस्था सिर्जना भएको छ। किरण साहका पिता र परिवारका अन्य सदस्यहरू समेत गम्भीर बिरामी भई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना छन्। यही पीडाबाट आक्रोशित भइ उनले मन्त्री र मेयरलाई फोन गरेर अभद्र शब्द प्रयोग गर्दै धम्की दिएको खुलेको छ।

सो घटनासँग सम्बन्धित अडियो क्लिप शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। पर्सा प्रहरीले मंगलबार किरणलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउँदैछ। किरणकी आमा सावित्री साहले पर्सा प्रहरी कार्यालय पुगेर केन्द्रीय मन्त्रीको पावरका भरमा आफ्नी छोरीलाई थुनामा राखिएको र बिना सर्त तत्काल रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिइन्। 

छोरीको रिहाइका लागि दबाब दिन प्लेकार्ड बोकेर प्रहरीको ढोकाअगाडि पुगेकी उनलाई जसपा नेपालकी केन्द्रीय सदस्य करिमा बेगम, जनमत पार्टीकी नेतृ नजमा खातुनसहित विभिन्न संघसंस्था र संगठनका प्रतिनिधिले साथ दिएका थिए।

आफूहरू बिरामी भएर अस्पतालमा भर्ना भएका वेला कुरुवा बसेकी छोरीलाई पक्राउ गरिएको भन्दै सावित्रीले हैजाकै कारण कान्छी छोरी अझै अस्पतालमै रहेको बताइन्। तर, यस्तो संवेदनशील विषयमा पनि नेताहरूले नै अफवाह फैलाएको उनको गुनासो छ।

वीरगन्ज खानेपानी मन्त्रीको निर्वाचन क्षेत्र रहेको र फैलिएको हैजा नियन्त्रण गर्न वीरगन्जवासीले आश गरे अनुसारको कार्य मन्त्री र वीरगन्ज महानगरपालिकाले नगरेको स्थानीयको गुनासो छ।