काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।
जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ । आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।
कति बेला देखिन्छ ?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भएर राति १:४१ बजे अन्त्य हुनेछ। मौसम सफा रहे काठमाडौँबाट करिब साढे तीन घण्टा ग्रहण देख्न सकिनेछ। समितिका अनुसार यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्र ग्रहण पनि लाग्नेछ।
शास्त्रीय मान्यताअनुसार बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहणको अवधिमा मन्त्र जप, दान, स्नान गर्नुलाई राम्रो मानिन्छ भने सुत्ने, खाने, मैथुनलगायतका कार्यलाई बर्जित गरिएको छ ।
ग्रहण किन लाग्छ ?
खगोलविद्हरूका अनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा चन्द्र ग्रहण लाग्छ। पृथ्वीको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाक्दा खग्रास र आंशिक रूपमा ढाक्दा खण्डग्रास चन्द्र ग्रहण हुन्छ।
सामान्यतया सूर्यको प्रकाश परेर चन्द्रमा देखिन्छ। तर पृथ्वी बीचमा परेपछि छायाले चन्द्रमालाई ढाक्छ र ग्रहण लाग्छ। त्यस्तै, सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यको प्रकाश अवरुद्ध भई पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्य ग्रहण भनिन्छ।
चन्द्र ग्रहण वा सूर्य ग्रहण सामान्य खगोलीय घटना भए पनि धार्मिक मान्यताअनुसार यस अवधिलाई अशुभ मानिन्छ। पूजापाठ, खाना खाने, हास्यव्यङ्ग्य गर्ने वा सहवास गर्न नहुने विश्वास गरिन्छ। तर वैज्ञानिकहरूले यस्ता मान्यतालाई स्वीकार नगरी ग्रहणलाई वैज्ञानिक अध्ययन र अवलोकनको अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन्।