काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुने जानकारी दिएकी छन् । उनले जेनजी आन्दोलनको म्याण्डेटअनुसार आयोग आवश्यक रहेको बताउँदै यसले अनुसन्धान गरेर आगामी सरकारलाई सहज आधार तयार गरिदिने उल्लेख गरिन् ।
उक्त आयोगले अनुसन्धान गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् । ‘कति भ्रष्टाचार भएको छ । अनियमितता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्यायौँ भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौँ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।
सरकारको कार्यकाल नै ६ महिनाको भएकाले यो अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको उनले बताएकी छन् ।