बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

Nepal Cover
१ आश्विन २०८२, बुधबार
image

काठमाडौँ । बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाएका हुन् । उनले उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएका छन् ।

आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा पत्र बुझाएका हुन ।

जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकूल नभएको पत्रमा उल्लेख गरेका छन् ।

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।