कारोबार शुरू भएको केही मिनेटमै तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि दिनभरका लागि कारोबार स्थगित गरिएको छ। कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो।
२० मिनेटको अवकाशपछि पुनः खुलेको बजारमा समग्र सूचक ५ प्रतिशतले घटेपछि दोस्रोपटक सर्किट ब्रेक लाग्दै कारोबार पुनः स्थगित भएको हो।
दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३.०३ अंकले घटेर २५३८.५७ विन्दुमा पुगेको छ। समग्र बजार धारणा कमजोर देखिएको छ भने लगानीकर्तामा असमञ्जसता र त्रासको वातावरण देखिएको छ।
विशेष गरी, पुनर्बीमा समूहमा समावेश दुई कम्पनीसहितको समूह ८.९ प्रतिशतले घट्दै सबैभन्दा धेरै क्षति बेहोर्ने समूह बन्न पुगेको छ। त्यसैगरी, बैंकिङ, विकास बैंक, लगानी तथा जीवन बीमा समूहका सूचकहरू पनि ५ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
बजार विश्लेषकहरूले पछिल्ला सामाजिक तथा राजनीतिक अस्थिरता, लगानीकर्ताको मनोविज्ञानमा परेको असर र कमजोर बजार विश्वासलाई बजारको गिरावटको मुख्य कारण मानिरहेका छन्।