धनुषाबाट ४७५ किलो गाँजा सहित दुई जना पक्राउ

Nepal Cover
३ आश्विन २०८२, शुक्रबार
image

धनुषा । धनुषाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका ३ जोगियाराबाट ४ सय ७५ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका १ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर रहेका छन् ।

प्रहरीका अनुसार प्र ३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमार्फत वीरेन्द्रबजारतर्फ गाँजा ल्याइँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले गणेशमान चारनाथ नगरपालिका ४ स्थित सडकमा उक्त गाडी रोकेर चालक बिराज र सहचालकलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो अनुसन्धानमा उनीहरूले धरानबाट गाँजा ल्याई विदेह नगरपालिका ३ जोगियारास्थित एक इट्टा भट्टामा राखेको खुल्न आएपछि त्यहाँबाट १९ पोकामा राखिएको ४७५ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।