जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्छु : प्रधानमन्त्री कार्की

Nepal Cover
३ आश्विन २०८२, शुक्रबार
image

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् ।  

संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको उल्लेख गरे । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताए ।

प्रधानमन्त्री कार्कीले आफु पदको लोभ लिएर प्रधानमन्त्री भएको नभइ देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न आफुले नेतृत्व लिएको धारणा राखे ।

नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनले दोहर्याए । कार्कीले कानूनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणामका कारण वर्तमान अवस्था आएको पनि बताए ।

उनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायीक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चूनौति रहेको उल्लेख गरे ।