काठमाडौँ । हिन्दुहरूको महान् चाड बडादशैं आजदेखि विधिवत् शुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैंको रौनक छाएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ।
आजको दिनलाई घटस्थापना भनिन्छ। बिहान नित्यकर्म समाप्त गरी पूजा कोठा वा दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा देवीको आह्वानसहित पूजा आरम्भ गरिन्छ। यस दिन जमरा राख्ने परम्परा पनि छ, जसलाई विजयादशमीको दिन टीका–प्रसादसँगै ग्रहण गरिन्छ। यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ९:१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नवरात्रका नौ दिनमा क्रमशः नवदुर्गा का रुप–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। दशैँलाई असत्यमाथि सत्यको र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मानिन्छ।
यस पर्वमा घर–घरमा देवीको पूजा आराधना मात्र नभई शक्तिपीठ, मन्दिर र दशैँ घरहरूमा विशेष पूजा, बलि र दुर्गा सप्तशती लगायतका स्तोत्र पाठ गर्ने परम्परा छ। राजधानीको हनुमानढोका दरबारमा पनि आजदेखि विशेष पूजा आरम्भ भएको छ।
विजयादशमी यस वर्ष असोज १६ गते पर्दछ। टीका र जमरा ग्रहण गर्न उत्तम साइत बिहान ११:५३ बजे रहेको समितिले जनाएको छ। दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ, जसअन्तर्गत रोजगारी, अध्ययन वा कामको सिलसिलामा बाहिर रहेका मानिसहरू घर फर्की परिवारसहित पर्व मनाउने गर्दछन्।