बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

Nepal Cover
२२ आश्विन २०८२, बुधबार
image

काठमाडौं । यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणमा १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्नेछ।

गत वर्षको क्षति पुनर्निर्माणमा १ अर्ब ७० करोड बाँकी रहेकाले यस पटक थप बजेट आवश्यक पर्ने देखिएको छ। मन्त्री कुलमान घिसिङले अवरुद्ध सडक छिटो सञ्चालनमा ल्याउन उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिए।

सबैभन्दा बढी क्षति मेची राजमार्गमा देखिएको छ, जसको पुनर्निर्माणमा १.५ अर्ब लाग्नेछ। अरनिको, कोशी, नारायणघाट–मुग्लिङलगायत राजमार्गहरू पुनर्निर्माणमा झन्डै ३.७७ अर्ब, १७ स्थायी पुलमा ४.५२ अर्ब, बेलिब्रिजमा ८० करोड र वैकल्पिक सडकमा १.५९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।