काठमाडौं। पोखराको चर्चित ‘लिची बगान’ जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि, व्यवस्था सहरकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठमाथि घुष प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेकाे हाे। दुई मन्त्रीसहित ५ जना विचौलियालाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो। त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो।
घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरण अख्तियारमा पेश भएका थिए । त्यतिमात्रै नभएर भूमि मन्त्रालयका तत्कालिन सचिव अर्जुन पोखरेलले समेत रकम लिएका विवरण सार्वजनिक भएका थिए।