काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्।
त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए। जेनजी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका गतिविधि पनि गुन्डुस्थिति आफ्नै निवासबाट गरिरहेका छन्।
बुधबार भर्चुअल रूपमा सम्पन्न जिल्ला अध्यक्षहरूसँगको बैठकमा अध्यक्ष ओलीले आफूले अहिलेसम्म नेतृत्व छोड्न नचाहेको, पार्टी र देशले आजभन्दा जटिल परिस्थितिसँग जुध्नुपर्ने अवस्था आएको बताउनुभएको थियो ।
उहाँले बैठकमा आफ्नो भनाइ राख्दै भन्नुभयो– ‘देशी–विदेशी षड्यन्त्रका कारण लोकतन्त्र धरापमा पर्न लागेको छ । अहिले सबै देशभक्त एक भएर अघि बढ्नुपर्ने बेला आएको छ ।’ वर्तमान संकट ओली अथवा एमालेलाई मात्र होइन, सम्पूर्ण राष्ट्रिय अस्तित्वलाई खतरामा पार्ने गरी अगाडि बढ्ने प्रक्रिया भएको बताउँदै जेन–जीको नाममा भइरहेको षड्यन्त्रलाई खुला रूपमा स्वीकार गरियो भने नेपालको सार्वभौमिक एकता नै ध्वस्त हुन सक्ने खतरा बढ्नेछ । उहाँले पार्टीका समस्त नेता तथा कार्यकर्तालाई स्थिति जस्तो भए पनि प्रतिवाद गर्न आह्वान गर्नुभयो ।
ओलीको दृढ अडान सार्वजनिक भएपछि, नेपाली राजनीतिमा नयाँ तरंग देखा परेको छ । यसैबीच, बुधबार ३० वटा प्रबुद्ध समूहले संयुक्त विज्ञप्ति जारी गर्दै विधि, नीति र समयअनुसार पार्टीका पुराना नेताहरूले राजनीति छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठाएका छन् । समयले नयाँ सोच–दृष्टिकोणको खोजी गरिरहेको छ । राजनीतिक दलहरू निरन्तर ऊर्जा र सजीव नेतृत्वले अघि बढ्न सक्नेछन् ।
विस्तारित चरण र जिम्मेवारीका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक छ । यस हल्लासँगै पार्टीभित्र वृद्घ नेताहरूलाई संरक्षक वा सल्लाहकार रूपमा सीमित भएर बस्न दबाब दिइरहेको संकेत पनि मिल्ने गरेको छ ।
उनीहरूलाई छोडी दिऊँ, अब नयाँ पुस्ताले अगाडि बढोस् भन्ने आह्वान दिन थालिएको हो । ओली र एमालेमाथि अहिले एक प्रकारको भीषण षड्यन्त्र भइरहेको उहाँको दाबी छ । उहाँको भनाइअनुसार, ओली अथवा एमालेमात्र होइन, सम्पूर्ण राष्ट्रलाई बर्बाद हुने दिशामा धकेल्ने षड्यन्त्र योजना गरेको छ । एमालेका युवा निकायहरू समेत अब डिजिटल फोर्स नामक नयाँ संरचना गठन गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत जेन–जी र त्यसका आलोचकहरूलाई चुनौती दिने संकेत गरेका छन् ।
नेपाली राजनीतिक इतिहासमा नेतृत्वको अदल–बदल, आन्दोलन–विरोध, संरचनात्मक परिवर्तनका चरणहरू सधैं क्रियाशील बनेका छन् । तर, आजको संकटले केही विशिष्ट संरचनात्मक चुनौतीहरू उजागर गरेको छ । ओलीको अडानले जारी राजनीतिक तरंगलाई स्थिरता दिन्छ कि थप संघर्ष उत्पन्न गर्छ भन्ने दुविधा उत्पन्न भएको छ । पार्टी र देशका लागि यो एउटा निर्णायक मोड बनेको छ ।