काठमाडौं । दशैँ विदापछि लगातार दुई दिन घटेको बजार पहिलोपटक हरियो बनेको छ। कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।
त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड १८ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रिस्टा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रापावरको कारोबार रकम २७ करोड नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब २१ करोडको शेयर कारोबार भएको छ।