काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले शुक्रबार सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नका लागि विरोध प्रदर्शनलगायतका कार्यक्रममा रोक लगाइएको जनाएका छन्।
‘र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ सूचनामा भनिएको छ।
नेकपा एमाले निकट युवा संघले शनिबार काठमाडौँमा गर्ने भनेको मोटरसाइकल र्यालीलाई लक्षित गर्दै प्रशासनले सूचना जारी गरेको हो।
