काठमाडौँ । काठमाडौँ। पुर्व गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । लेखकले गत भदौ २३ र २४ गते भएको घटनामा बल प्रयोग गर्न तत्कालीन प्रधानमन्त्री र आफूले निर्देश नगरेको प्रस्ट्याएका छन् ।
एक महिना अगाडिको घटनापछि पहिलोपटक सञ्चारकर्मीसँग शुक्रबार बोल्दै लेखकले ठूलो मानवीय तथा भौतिक क्षतिको घटनामा बल प्रयोगको आदेश नभएको प्रस्ट्याएका हुन् । ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रूपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन,’ उक्त आन्दोलनपछि पहिलो पटक मिडियामा सार्वजनिक भएका लेखकले भने ।
‘भदौ २३ २४ गते दु:खद र पीडादायी घटना भए । युवाहरूले असल माग राखेर प्रदर्शन गरे । भ्रष्टाचार निर्मूल, सुशासन, पारदर्शिता र सूचनाको हकलाई निर्वाध चल्नुपर्ने माग राखेर आन्दोलन गरेका थिए । यी माग नयाँ पुस्ताको मात्रै होइन, सम्पूर्ण युवा र नेपालीको माग हो,’ लेखकले भने, ‘त्यो दिन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको चर्चा भएको छ । यी विषयमा प्रधानमन्त्री र गृहमन्त्री जो भए पनि गृहमन्त्रीले आदेश गर्ने विषय होइन । बलपूर्वक आदेश प्रधानमन्त्री र मेरो तर्फबाट भएको थिएन । तर घटना दु:खद् भयो । ठूलो मानवीय क्षति भयो । ती घटनाप्रति गहिरो पीडा भएकोले राजीनामा गरेको हुँ ।’
पछिल्लो घटनापछि युवा जेनजीको माग र भावनालाई समेटेर संवादमार्फत अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
‘जेनजीको माग र भावनालाई समेटेर दलले संवादबाट लोकतन्त्रको मूल्य र मान्यतालाई अगाडि बढाउनुपर्छ । उत्तेजित हुने, आग्रह, पूर्वाग्रहबाट माथि उठ्नुपर्छ । मुलुकमा विधिको शासन स्थापित गर्नुपर्छ,’ लेखकले भने, ‘छानबिनका लागि आयोग बनेको छ । सरकार, आयोग, दलले लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिभित्र संविधान र कानून बमोजिम काम गर्नुपर्छ । कानूनी शासनको मान्यताभित्र बसेर काम अगाडि बढाउनुपर्छ ।’
कांग्रेसमा पनि वृहत् एकताको खाँचो रहेको उनले बताए । ‘हिजो संकटमा कांग्रेसले नेतृत्व दियो । अहिले पनि ठीक ढंगले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ । त्यसपछि नयाँ घटनाक्रमलाई लिएर कांग्रेसमा एकताको आवश्यकता छ,’ लेखकले भने, ‘मुलुकमा लोकतान्त्रिक पद्धति, सुशासनको लागि राजनीतिक दलसँग एकता, वृहत्तर संवादको आवश्यकता र सहकार्य जरुरी छ । यसबाटै मात्रै अगाडि बढ्न सकिन्छ ।’