काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । सो प्रकरणमा सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्दा चलाउन सिफारिस गरेको थियो ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पनि अदालतमा उपस्थित गराएको छ ।
महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् । राहुल यसअघि पक्राउ परेका थिए ।