काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पटकपटकको ताकेतापछि उद्योगहरूले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता तिर्न सुरु गरेका छन् । शुक्रबारदेखि पाँचवटा उद्योगले किस्ताबापत बक्यौता रकम बुझाउन थालेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनबापतको कुल पाँच करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताको रूपमा २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।
त्यस्तै, यसअघि किस्ता तिर्न सुरु गरेर बीचमा रोकिएको परासीस्थित लक्ष्मी स्टिलले पनि किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको जानकारी दिए ।
सिलवालका अनुसार सर्वोत्तम सिमेन्टले पनि बीचमा रोकिएको किस्ता तिर्न पुनः सुरु गर्दै ४० लाख रुपैयाँ बुझाएको छ । त्यस्तै, बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुल किस्तामा तिर्न थालेको छ ।
हुलास स्टिलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको कुल १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने सहमति प्राधिकरणसँग गरेको छ । शुक्रबार उद्योगले पहिलो किस्ता बुझाएको हो ।
त्यस्तै, सिमराकै अर्को उद्योग अशोक स्टिलले पनि १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रकम किस्तामा बुझाउने सहमति गरी पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले लामो समयदेखि डेडिकेटेड र ट्रङ्कलाइनमार्फत विद्युत् उपयोग गर्ने उद्योगहरूलाई बक्यौता बुझाउन पटकपटक आग्रह गर्दै आएको थियो ।