काठमाडौँ। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो ।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर हुन् ।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो । उनीहरूले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए । अचेत भएपछि घिसारेर मुख्य सडकको बीचमा पुर्याएका थिए । त्यहाँ पनि कुटपिट हुँदा उनीहरूको ज्यान गएको थियो ।