काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन International Solar Alliance–ISA) को आठौँ सभामा भाग लिन भारत प्रस्थान गरेका छन् ।
उक्त सभा नयाँ दिल्लीमा १०–१३ कात्तिक (२७–३० अक्टोबर २०२५) सम्म आयोजना हुँदैछ। ४० भन्दा बढी देशका ऊर्जा मन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहने यस सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे उच्चस्तरीय छलफल हुनेछ।
मन्त्री घिसिङले सभामा नेपालको तर्फबाट सहभागिता जनाउँदै सम्बोधन गर्ने कार्यक्रम छ। उनले “बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना ” शीर्षकको विषयगत सत्रमा विशेष सम्बोधन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्न प्रतिबद्धता जनाउँदै आएको छ। अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपालले आइएसएको कार्यक्रममा सक्रिय सहभागिता जनाएको हो।
सन् २०१५ नोभेम्बरमा पेरिसमा आयोजित जलवायु सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रवर्द्धन र साझा चुनौती समाधानका लागि पेरिस घोषणा जारी गरी आइएसए स्थापना गरेका थिए। सन् २०३० सम्म सौर्य ऊर्जाको व्यापक प्रयोग गर्न एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने र भविष्यका प्रविधि अनुकूल मार्गनिर्देशन गर्ने लक्ष्यसहित यो गठबन्धन स्थापना भएको हो।
नेपालले हालै प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन गरी आइएसएको १०१औँ सदस्य राष्ट्रको रूपमा २०८१ भदौमा औपचारिक रूपमा आवद्धता जनाएको हो।
मन्त्री घिसिङले महासभामा सहभागी भएपछि बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।