काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगका अनुसार कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिएको आरोप छ।उजुरीका आधारमा अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कार्कीले गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक-देउली-जडी हुँदै जाने सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि प्रक्रिया सहज बनाइदिने बहानामा घुस रकम लिएको प्रमाणित भएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, घटनाको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम कार्कीविरुद्ध एक लाख बिगो कायम गरी कैद र जरिवाना सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।