काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

Nepal Cover
२० कार्तिक २०८२, बुधबार
image

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

हिजोको बैठकमा महाधिवेसन तालिकाबारे दुई फरक प्रस्ताव पेस भएका छन्। संस्थापन पक्षले बैशाख र इतर पक्षले पुसमा महाधिवेसन गर्नुपर्ने फरक प्रस्ताव पेश गरेका हुन्। महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश गर्दा सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेसन गर्ने अर्को प्रस्ताव आएको छ। 

महामन्त्री थापाको गर्नुभएको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ।यस्तै सहमहामन्त्री यादवले पेस गरेको कार्यतालिकामा २०८२ चैत १ गते वडा अधिवेशन सुरु गरी २०८३ वैशाख २७ देखि २९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ। 

हिजोको बैठकमा यी प्रस्तावहरुमाथि ८ जना केन्द्रिय सदस्यले धारणा राखेका थिए। आज अरु केन्द्रिय सदस्यहरुले धारणा राख्ने मुख्य सचिव पौडेलले बताउनुभयो।