समाजवादीसँगको यात्रा टुंगियो, झाँक्री

Nepal Cover
२० कार्तिक २०८२, बुधबार
image

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीसँगको राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको बाटोमा पुगेको बताउँदै नयाँ राजनीतिक दिशा खोज्ने संकेत दिइन् ।

‘हामीले जुन सपनासहित एमालेबाट अलगिएर एकीकृत समाजवादी बनायौँ, त्यो भयंकर अभियानको सम्भावना अब सकियो,’ झाँक्रीले भनिन्, ‘पार्टी विघटनको यो घडीमा हाम्रो यात्रा पनि यहीँ टुंगियो ।’ माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू असन्तुष्ट बनेका थिए । उनीहरूले एकताको निर्णयमा विरोध जनाएका छन् । बाटो अवरुद्ध भएको प्रसङ्ग कोट्याउँदै झाँक्रीले भनिन्, ‘यात्रुको गाडी बीच बाटोमै अड्किएजस्तै हाम्रो बाटो पनि बन्द भयो । अब एक छिन उभिएर नयाँ बाटो पहिल्याउनुपर्छ, अनि मात्र अघि बढ्न सकिन्छ ।’

अगाडि बोल्दै नेता किसान श्रेष्ठले आफूहरू नि:शर्त ‘मूल घर’ एमालेमै फर्किन तयार रहेको बताए । ‘हामीलाई पद–प्रतिष्ठा केही चाहिएको छैन,’ उनले भने, ‘मुल घरमा हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए काफी छ ।’