नवगठित ‘नेपाली कम्युनिस्ट पार्टीले दियो दल दर्ताको लागी आयोगमा निवेदन

Nepal Cover
२१ कार्तिक २०८२, बिहीबार
image

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। विभिन्न १० वटा वामपन्थी पार्टीको एकता घोषणा गरेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो।

एकता घोषणाको भोलिपल्टै, बिहीबार आयोगमा निवेदन दर्ता गरेर नयाँ पार्टीले चुनावी मैदानमा होमिन आफू तयार रहेको संकेत दिएको छ । साविकका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख वाम घटकहरू एक भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेका हुन् । 

नवगठित पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ निर्धारण गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘नेपाली कम्युनिस्ट पार्टी’ को दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले कात्तिक ३० भित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने प्रावधान छ । 

पार्टीका नेता शिव खकुरेलका अनुसार, दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन बुझाइएको छ ।