काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीका समस्यामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्ने घोषणा गरेका छन् । आइतबार काठमाडौँको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेका उनले मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका हुन् ।
सुकुम्बासीबस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखा परेका हुन्। उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर बालेनविरुद्ध लड्न आफूले सहयोग गर्ने र मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन सुकुम्बासीहरुलाई आह्वान समेत गरेका छन् ।
प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए । उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिएका छन्।
दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए।